
विराटनगर । भदौ १३ गते शनिबार विराटनगर-४ इक्राहीस्थित नहर छेउको धानखेतमा बोराभित्र पोको पारेर फालिएको शिशु स्थानीयले फेला पार्छन् । सालनालसहित फालिएको नवजात शिशु (छोरा) रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले शिशुलाई उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल लगेको थियो । स्वास्थ्य परीक्षणपछि सोहीदिन साँझ शिशुलाई विराटनगरको पूर्वाञ्चल बालसेवा आश्रम लगियो ।
आश्रमकी संस्थापक ७९ वर्षीया सीता पोखरेलको संरक्षणमा अहिले उक्त शिशु हुर्किरहेका छन् । आज भेटिएको ११ औं दिनमा शिशुको न्वारान पनि गरिएको छ । ‘शिशुलाई भेटिएकै दिन आश्रममा ल्याइदिनुभएको थियो । आज ११ औं दिनमा न्वारान पनि गरियो’, आश्रमकी संस्थापक पोखरेलले संगालोखबरसँग भनिन्, ‘नाम दयानिधि जुरेको छ । शिशुको कुम्भ राशि परेको छ ।’
सालनालसहित भेटिएको शिशुको न्वारान गर्ने गरिएको उनले सुनाइन् । ‘अस्पतालमा सालनाल काटेर त्यही दिन मलाई ल्याइदिनु भएको थियो’, उनले भनिन्, ‘शिशुको अवस्था राम्रो छ । यहाँ ल्याएपछि पनि सोही दिन मैले पनि अस्पताल पुर्याएर ल्याएँ ।’
लामो समयदेखि पोखरेलले अभिभावकविहीन र असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छिन् ।

संगालोखबर 














