
विराटनगर । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले विराटनगरमा नाटक मञ्चन सुरु गरिएको छ ।
आरोहण गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चन सुरु भएको हो । भदौ २१ देखि सुरु भएको नाटक भदौ २४ गतेसम्म मञ्चन हुनेछ ।
नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुने कार्यक्रम संयोजक देवेन्द्र यादवले जानकारी दिए । नाटकबाट सङ्कलन भएको सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने उनले बताए ।
नाटक हेर्नका लागि ३ सय, ५ सय र १ हजार दरका टिकट कायम गरिएको छ । विद्यार्थीहरूका लागि विशेष सहुलियतको व्यवस्था मिलाइएको छ ।
नाटकमा दानबहादुर अधिकारी, राजेश ठाकुर, निशान चौहान राई, महेश पासवान, सङ्गीता यादव, प्रदीप दाहाल, गीता कोइराला, अमिशा वाग्ले, डेविड विष्ट, स्नेहा पोख्रेल र भरत कार्की लगायतले अभिनय गरेका छन् ।

संगालोखबर 














