
विराटनगर । शनिबार विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक थियो । रथको डोरी छुनलाई भक्तजनहरूको घुइँचो पनि त्यस्तै । रोडशेष चोकमा त झन धेरै भीड थियो ।
विराटनगर-१८ फडानी चोककी १६ वर्षीया चाँदनी दास पनि रथ अवलोकनका लागि परिवारका सदस्यहरूसँग अपरान्ह ४ः३० बजेतिर घरबाट निक्लिन् । उनी परिवारका सदस्यहरूसँगै रथ अवलोकनका लागि रोडशेषमा बसेकी थिइन् ।
उनीहरू रथको प्रतीक्षामा बसेका थिए । रथ आएपछि अवलोकन गर्ने र घर फर्कने उनीहरूको तयारी थियो । तर एकाएक चाँदनी भीडमा कहाँ हराइन् परिवारका सदस्यले पत्ता लगाउनै सकेनन् ।
‘हामीसँगै रथ अवलोकनका लागि आएका थियौँ’, चाँदनीका मामा अजय दासले संगालोखबरसँग भने, ‘बेलुका पनि धेरै तिर खोजी गर्यौं । तर कतै फेला पार्न सकेनौँ । आज पनि खोजीमै छौँ । फेला नपरेपछि प्रहरीमा निवेदन पनि दिएका छौँ ।’
रोडशेष चोकबाट राति करिब ७ः३० बजे भान्जी हराएकी उनले बताए । आफन्त र उनका साथीहरू सबैतिर बुझ्दापनि केही पत्तो नलागेको उनको भनाइ छ । उनले सबैलाई खोजीका लागि अपिल समेत गरेका छन् ।
चाँदनीलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८२२७८९५७२ र ९८२५३९६०५५ मा सम्पर्क गरिदिन उनले आग्रह गरे ।

संगालोखबर 














