
विराटनगर । विराटनगरमा शनिबार गरिएको राधाकृष्ण रथयात्राका क्रममा भक्तजनलाई दुःख दिने, पाकेटमारा, चोरी गर्ने र अवाञ्छित गतिविधिमा संलग्न ११० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर, पर्सा, सप्तरी, उदयपुरदेखि भारतीय नागरिक समेत छन् । ‘रथयात्राका क्रममा अप्रिय घटना हुन नदिन हामीले विशेष सुरक्षा निगरानी गरेका थियौँ’, मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘विभिन्न गतिविधिमा संलग्न ११० जना पक्राउ परेका छन् ।’
पक्राउ परेकामध्ये ४५ जनालाई राति नै प्रहरीले परिवारको जिम्मा लगाएको थियो । आज सम्पर्कमा आउने सर्तमा उनीहरूलाई हिजो नै परिवारको जिम्मा लगाइएको डीएसपी मिश्रले जानकारी दिए ।
‘एक जना महिलालाई पनि पक्राउ गरेका थियौँ’, उनले थपे, ‘उनको साथमा सानो बच्चा भएकाले राति नै परिवारको जिम्मा लगायौँ । आज बोलाएका छौं । शंकास्पद गतिविधि नदेखिएपछि परिवारको जिम्मा लगाएका हौँ ।’
अहिले प्रहरीले दोषी र निर्दोषको पहिचान गरिरहेको छ । हिरासतमा रहेकाहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चोरी गर्ने, पाकेटमारी गर्ने, झै-झगडा गर्ने, भक्तजनलाई अभद्र व्यवहार गर्ने लगायतका व्यक्ति रहेका डीएसपी मिश्रले बताए ।
‘पक्राउ पर्ने व्यक्तिहरू विभिन्न ठाउँका छन् । केही मेला-महोत्सवमा चोरी गर्ने सञ्जाल पनि हुन सक्छन्’, उनले थपे, ‘शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि निर्दोष व्यक्ति छुट्छन् । दोषीमाथि प्रक्रिया अघि बढाइन्छ ।’
सुरक्षाका दृष्टिले रथयात्रा सफलतापूर्वक सम्पन्न भएको उनले बताए । तथापि रथयात्राका क्रममा विभिन्न सामग्री चोरी भएको भन्दै केही व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन थालेका छन् । ‘केही सामानहरू बरामद पनि भएको छ’, उनले भने कतिपय खोजतलासको क्रममा छ ।’

संगालोखबर 














