
विराटनगर । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मान्छेको आवाज आएको छ । उद्धारमा खटिएका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आवाज आएको र दोहोरो संवाद भएको जानकारी दिएका हुन् ।
सांसद न्यौपानेका अनुसार सुरुङ भित्रबाट आवाज आएपछि सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र छिरेर उद्धार कार्यलाई तीव्रता दिएको छ । यो विषयमा जानकारी गराउँदै सामाजिक सञ्जाल फेसबुकमा न्यौपानेले लेखेका छन्, ‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ ।’
सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको भन्दै उनले भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको उल्लेख गरेका छन् । ‘उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको न्यौपानेले लेखेका छन् ।
रसुवाको भोटेकोशीमा गत भदौं १० गते भीषण बाढी आएको हो । घटना भएको आज १० दिन भएको छ । यत्तिका दिनसम्म पनि सुरुङभित्र मानिसहरू जीवितै रहेको संकेतले आशा जगाएको छ ।

संगालोखबर 














