
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको हो ।
पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेसँगै जितपुर बजार अहिले नयाँ स्वरूप देखिन थालेको छ । सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा बस्ती विकास समेटिएको यो परियोजनाले जितपुरको स्वरूप नै परिवर्तन हुने अपेक्षा छ ।
शहरी विकास मन्त्रालयको ३४ करोड ८६ लाख ५७ हजार रुपैयाँ लागतमा एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन भएको हो । आयोजनाअन्तर्गत जितपुर बजार, अस्पताल लाइन, रातामाटे, अर्खौले हुँदै बजगाउँसम्म ७.८५ किलोमिटर सडकखण्डमा नाला, बेस र सब-बेस निर्माण सम्पन्न भइसकेको छ । यसैगरी कालोपत्रेको तयारी पनि भइरहेको छ ।
मिनीमार्केट भवन पनि निर्माण कार्य सम्पन्न हुने चरणमा छ । सडक, नाला र फुटपाथ निर्माणले आवत-जावतमा सहज हुने जितपुरकी स्थानीय हेमकुमारीले बताइन् । निर्माण सम्पन्न पश्चात् सेवा प्रवाह प्रभावकारी बन्ने तथा मिनीमार्केट सञ्चालनमा आएपछि व्यापार व्यवसाय थप व्यवस्थित हुने उनको अपेक्षा छ ।
शहरी विकास तथा भवन निर्माण आयोजनाले कार्यान्वयन गरिरहेको यो आयोजना बिरुवा-साराश्रृष्टि निर्माण कम्पनीले ठेक्का पाएर काम अगाडि बढाएको थियो । निर्माण कम्पनीका अनुसार २०८० असोजमा सम्झौता भएर काम अघि बढाइएको थियो ।
आयोजनाको काम २०८२ माघ महिनाभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण ढिलाइ हुँदा हालसम्म करिब ६५ प्रतिशत प्रगति भएको छ । यस अवधिसम्म सरकारले निर्माण कम्पनीलाई २० करोड ५५ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
निर्माण पक्षले रिङरोड क्षेत्रभित्रको जग्गा विवाद, केन्द्रबाट समयमै बजेट निकासा नहुनु, पछिल्लो महिना निर्माण सामग्री अभाव तथा मूल्य वृद्धिका कारण काममा ढिलाइ भएको जनाएको छ । विभिन्न कारणले काम सम्पन्न गर्न निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिलो भइसकेको छ ।
जितपुर बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायाले बताए । निर्माण कार्य ढिलो भएका कारण चाँडो सम्पन्न गर्न ताकेता गरिरहेको उनको भनाइ छ ।
निर्माणका लागि आवश्यक सामग्री तयार रहेको तर वर्षायाममा काम ढिला भएको तथा बीचमा बाधा अवरोध नआए पुषसम्ममा एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम निर्माण सम्पन्न हुने नगरप्रमुख रायाले जानकारी दिए ।

सन्तोष सुवेदी/संगालोखबर 














