संगालोखबर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका नागरिकले अब जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउने भएका छन् ।

सहज, पहुँच योग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जीवन विकास सामुदायिक अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र सुनवर्षी नगरपालिका उप-प्रमुख मीरादेवी दास केवरतले भदौ १५ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब सुनवर्षी नगरपालिकाका बासिन्दा, स्थानीय तहका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधि लगायतले सम्झौतामा तोकिए अनुसार विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

सम्झौता अनुसार अस्पतालमा उपलब्ध ओपीडी, आकस्मिक, बेड, ल्याब, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सीटीस्क्यान तथा यमआरआई लगायतका विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

सम्झौताको अवधि भदौ १५ गतेदेखि लागू भएर एक वर्षसम्म कायम हुनेछ । आवश्यकता अनुसार दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण वा विस्तार गर्न सकिने व्यवस्था गरिएको छ ।

मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल २०० शैय्याको हो । अस्पतालमा विभिन्न विशेषज्ञ ओपीडी, आकस्मिक सेवा, आइपीडी, आईसीयू, एनआईसीयू, एचडीसीयू, सीसीयू लगायतका सेवा उपलब्ध छन् ।

साथै अत्याधुनिक अपरेशन थिएटर मार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवासमेत प्रदान हुँदै आएको छ । यस सहकार्यले सुनवर्षी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण रूपमा प्राप्त हुनुका साथै स्वास्थ्य सेवामा थप पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!