
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरूलाई नियमित प्रशिक्षण गराएर राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने भएको छ ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने दोस्रो दिन विभिन्न समुहबीच प्रतिष्पर्धा गराइएको थियो ।
प्रतियोगितामा निर्णायकको भूमिका कोशी प्रदेश पौडीका मुख्य प्रशिक्षक इन्द्रजित राजभण्डारीले निर्वाह गरेका थिए । उनका अनुसार आगामी राष्ट्रिय प्रतियोगितामा भाग लिन कोशी प्रदेशका विभिन्न स्थानमा प्रशिक्षण तीव्र बनाइएको छ ।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल कुन्दन पुरीलगायतले मेडल तथा ट्रफी वितरण गरे । प्रतियोगिता अन्तर्गत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूबीच १५ मिटरदेखि १५ सय मिटरसम्म विभिन्न स्पर्धा गराइएको थियो ।

संगालोखबर 














