
विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि विराटनगरको सारडा र एके राठी ग्रुपले १ करोड १ हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीमा परेर प्रभावित बनेकाहरूलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक प्रदान गरिएको हो ।
सारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र एके राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । बाढीले ठूलो विपत्ति आइलागेकाले यो प्रतिकुल बेलामा साथ दिन सहयोग प्रदान गरिएको सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले जानकारी दिए ।
उनका अनुसार सारडा ग्रुप अन्तर्गतकै शिवम् होल्डिङ्सको तर्फबाट पनि थप २१ लाख प्रदान गरिएको छ । त्यस्तै, सारडा ग्रुपकै शिवम् सिमेन्ट लिमिटेडले पुनर्निमाणका लागि ८८ लाख बराबरको ११ हजार बोरा शिवम् सिमेन्ट पनि प्रदान गर्ने भएको छ ।
योसँगै बाढी प्रभावितका लागि २ करोड ११ लाख बराबरको सहयोग प्रदान भएको सारडा ग्रुपका निर्देशक पवनकुमारले जानकारी दिए । यसअघि विराटनगरको जाजु ग्रुप र सारडा ग्रुपले संयुक्त रुपमा ६० लाख बराबरको चाउचाउ, बिस्कुट र जुस पनि बाढी पीडितका लागि प्रदान गरेका छन् ।

संगालोखबर 














