संगालोखबर


धनकुटा । धनकुटामा यसवर्ष रोपाइँ (हिले) जात्रा स्थगित गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिले मुलुक शोकमा रहेका कारण यसवर्षको रोपाइँ जात्रा स्थगित गरिएको हो । धनकुटामा नेवारी समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा निकाल्ने गरेका थिए ।

मनोरञ्जन, प्रहसन तथा नगर परिक्रमा गरेर जात्रा मनाउने गरिएपनि शोकका बेला यस्तो गर्नु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरिएको नेवा पुचः धनकुटाका अध्यक्ष नवीन किशोर शाक्यले जानकारी दिए ।

‘कृष्ण जन्माष्टमीसम्म विविध कार्यक्रमहरू हुने गरेका थिए’, उनले संगालोखबरसँग भने, ‘शोकका कारण यसवर्ष लाखे सेलाउने बाहेकका सबै कार्यक्रम स्थगित गरेका छौँ ।’ शोकमै मनाइने गाईजात्रा भने निकालिएको उनले बताए ।

जात्रामा गरिने प्रहसन, व्यङ्ग्यात्मक प्रस्तुति, विभिन्न झाँकी तथा नगर परिक्रमालगायतका कार्यक्रम सबै स्थगित गरिएको उनले जानकारी दिए । परम्परागत रूपमा हातमा बीउ बोकेका रोपाहार, कोदाली बोकेका लाठे तथा विभिन्न भेषभुषामा सजिएर नगर परिक्रमा गरेर नेवार समुदायले रोपाइँ जात्रा मनाउँदै आएका थिए ।

रोपाइँ जात्रामा विशेषत पुरुषले महिला र महिलाले पुरुषको भेषमा प्रस्तुत हुने परम्परा रहेको उनले जानकारी दिए । ‘रोपाइँ जात्रा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ’, उनले थपे, ‘सबैको सल्लाहमा यसपटकका सबै कार्यक्रम नगर्ने भएका हौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!