संगालोखबर


विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले उदयपुरको गाईघाटमा विविध सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेर २६ औँ वार्षिकोत्सव मनाएको छ ।

शनिबार आयोजित विशेष कार्यक्रमको सुरुआत ‘न्युरो २६ गाईघाट रन’ मिनी म्याराथनबाट भएको थियो । स्वास्थ्य सचेतना जगाउने उद्देश्यले आयोजित उक्त म्याराथनमा कुल २०६ जना धावकहरू सहभागि थिए ।

म्याराथनमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएका १०० भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ ।

साथै अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ब्याग वितरण गर्नुका साथै विद्यालय परिसरमा साइकल पार्किङ स्ट्यान्ड निर्माण गरिदिएको छ ।

विद्यालयको खानेपानी तथा शौचालय संरचना सुधार र मर्मतसम्भारका लागि आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । वार्षिकोत्सव अभियानको अन्तिम चरणमा स्थानीय नागरिकहरूका लागि वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा वरिष्ठ न्युरोसर्जन डा. रोशन खतिवडा, अर्थोपेडिक सर्जन डा. अमित देव, जनरल सर्जन डा. प्रज्ज्वल खतिवडा, जनरल फिजिसियन डा. रमाकान्त राय, नाक, कान, घाटी रोग विशेषज्ञ डा. आशिष राज बिष्ट तथा डेन्टल र म्याक्सिलोफिसियल सर्जनद्वय डा. अमित प्रताप शाह र डा. जितेन्द्र मण्डल लगायतको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरी परामर्श तथा निःशुल्क औषधि वितरण गरेका थिए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगत, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई,  न्युरो हस्पिटलका अध्यक्ष तथा वरिष्ठ कन्सलटेन्ट न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट,  कार्यकारी निर्देशक डा. अनिशा बिष्ट र अपरेसनल डाइरेक्टर राजेश भट्टराई लगायत सहभागि थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले ठूला सहरमा सीमित विशेषज्ञ सेवा गाउँघरमै पुर्‍याएकोमा हस्पिटललाई धन्यवाद दिए । अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा बिष्टले पूर्वी नेपालका जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिन अस्पताल सधैँ प्रतिबद्ध रहेको बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!