संगालोखबर


विराटनगर । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सरकारलाई सल्लाह दिएको भोलिपल्ट नै कोशीका अर्थ सचिव कोशहरि निरौलाको सरुवा भएको छ । सामाजिक सञ्जालमार्फत शव व्यवस्थापनको विषयमा बोलेका उनलाई रसुवा सरुवा गरिएको हो ।

‘हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गाली खाउँला’ भन्दै उनले स्टाटस लेखेका थिए ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको काममा खटाएको हो ।

उनको तलब तथा भत्ता कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ । उनले स्टाटसमा कोभिड-१९ का बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीबारे उल्लेख गरेका थिए । उनले स्टाटस हटाइसकेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस

हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गाली खाउला ।
कोभिडको बेला थियो । म मोरङको प्रमुख जिल्ला अधिकारी थिए । कोभिडले मानिसहरूको ज्यान लिन शुरु गरिसकेको थियो । त्यसबेला कोभिड लागेर ज्यान जानु कति भयावह थियो भनी साध्य नै छैन । मरेको लास छुनु त पर जाओस् देख्नु पनि नहुने ! अस्पताल पुगेको मानिस कसरी मर्छ, अनि कसरी सद्गत गरिन्छ ? केही थाहा नहुने । कडा प्रोटोकलसहित जङ्गलमा गाड्नु पर्ने । एकातिर आफन्तलाई मर्याे भन्ने विश्वास गर्नसम्म गार्हाे थियो, अर्काेतिर प्रशासनलाई प्रोटोकल बमोजिम सबै जुटाउन त्यत्तिकै सकस थियो । करिब १५ वटा जति लास यसै गरी व्यवस्थापन गरियो ।

यही बीचमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एकजना कर्मचारी बित्नु भयो । उहाँको सद्गत पनि त्यही प्रोटोकल बमोजिम गरिएको थियो । कर्मचारी भएकोले उहाँको आफन्तलाई भेट्न सुरक्षा निकायका प्रमुखसहित म पनि पुगेँ । उहाँको बुबाले सुनाएको मेरो छोरो कोभिड लक्षण देखिएर हिँड्दै अस्पताल पुगेको थियो । मर्याे कि मारियो, कसले भनिदिने ? उसको अनुहार मात्रै देख्न पाएको भए हामी बितेछ भनेर चित्त बुझाउँथ्यौ । जन्मे पछि मर्छौँ भन्ने थाहा सबैलाई छ । बिचराले रोग जित्न सकेन मरेछ भन्थ्यौ । हाम्रो संस्कार अनुसार सके, मिले दागबत्ती दिन्थ्यौ नमिले परबाट माला चढाएर भए पनि अन्तिम अनुहार हेथ्र्याे भनेको पीडा, दुखेसो साँच्चै नै हृदयविदारक थियो । उहाँले गरेको यो दुखेसो यति पीडादायी थियो कि म आफैले आफैंलाई प्रश्न गरे, के म आफन्त गुमाउने मानिसका लागि यति काम पनि गर्न सक्दिनँ ? हामीले अवलम्बन गरेको यो अन्तिम संस्कार मानवीय संवेदनशीलताको हिसाबले कति सही छ ? प्रोटोकलका नाममा हामीले गरेको काम के साँच्चै मानवीय संवेदना नजिक छ ? म भोलि यसै गरी मरे भने मेरो आफन्तले मेरो अनुहार पनि देख्न नपाउने हो ?

त्यहाँबाट फर्केपछि सुरक्षा निकायको बैठक बस्यौँकोभिडबाट मृत्यु हुनेको अन्तिम संस्कारको जिम्मा नेपाली सेनाको थियो । सुरक्षा समितिबाट एउटा निर्णय गर्यौं । घाटमा बनाएको चितासम्म नेपाली सेनाले पुर्याउने र चितामा राखिदिने । चितालाई नछोइकन परबाट आफन्तले फूलमाला राख्न सक्ने र आगो लगाउन सक्ने निर्णय गरेका थियौँ । त्यसपछि कोभिडबाट मृत्यु भएका सबैको अन्तिम संस्कार त्यही अनुसार भयो । कोभिडबाट मृत्यु हुनेको दाहसंस्कार यसरी गर्न दिने निर्णय मोरङले सबै भन्दा पहिले गरेको थियो । कोभिड सकिने बेलासम्म सुनसरीका धेरै घाटमा यसरी जलाउन समेत दिइएन । तर मोरङमा सहज भएकोले धरानमा बितेकालाई सम्म मोरङमा ल्याएर दाहसंस्कार गरिएको थियो । 

मानिसको मृत्युको भरपाई त कसले गर्न सक्छ र ? तर पनि यसले हामीलाई गुमनाम रूपमा अन्तिम संस्कार गर्नु पर्ने झन्झट र बाध्यताबाट सहज बनायो भने आफन्तले अनुहारसमेत नदेखी आफ्ना आफन्त गुमाउँदाको पीडालाई अलिकति भए पनि कम गर्यो । मृत्यु संस्कार आफैँमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ । यसलाई यति हतार गरेर नगाडौँ । आफन्त नभेटिए ६/७ महिना पछि जे गर्नु पर्छ गरौँला । मृतक वा परिवार गुमाएका हराएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लाश खोज्छन् । सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कार अनुसार अन्तिम संस्कार गर्छन् र गर्न पाउनुपर्छ । त्यहाँ नेपालीमात्रै छैनन्, विदेशी पनि छन् । उनीहरूका परिवारसमेत खोजतलास गर्दै आइपुग्नु हुन्छ । जो भए पनि तिनको आत्माको चीरशान्तिको कामना गरौँ । कृपया संवेदनशील बनौँ । चाहिने प्लास्टिक वा ठूला फ्रिजको व्यवस्था गरौँलासलाई अन्याय नगरौँ र आफन्तको भावनामा कुठाराघात पनि नगरौँ । यति कुरा भन्न मन लाग्यो र भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!