
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भानुभक्त राईको भोजपुरमा हत्या भएको छ ।
धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको हो । साल्पासिलिछो गाउँपालिका-५ मा शिक्षक राईमाथि कुटपिट भएको भोजपुरका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
शिक्षक राईको मृत्यु भएपछि अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । भोजपुरका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर खड्काका अनुसार पुरानो रिसिइबीका कारण घटना भएको अनुमान गरिएको छ ।
‘पुरानो रिसिइबी रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । घटना भएको दिन पनि विवाद भएको देखिन्छ’, डीएसपी खड्काले संगालोखबरसँग भने, ‘अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ ।’
पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । डीएसपी खड्काका अनुसार पक्राउ परेकाहरूको नाम भेरिफाइको काम भइरहेको छ । पीडित परिवार जाहेरी दिन आउँदै गरेको बताउँदै उनले अनुसन्धानपछि थप कुरा खुल्ने बताए ।
उनका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा पठाइएको छ । निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राई तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा गएका थिए । उनी संखुवासभाबाट फर्किएर मेला भर्न साल्पा पोखरी पुगेको खुलेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














