संगालोखबर


काठमाडौं । वैदिक सनातन परम्परामा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा पर्व आज देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदैछ ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक नयाँ यज्ञोपवीत धारण गर्ने तथा विभिन्न समुदायले रक्षासूत्र बाँधेर पर्व मनाउने गरेका छन् ।

जनैपूर्णिमाको अवसरमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गर्ने र गुरु–पुरोहितबाट मन्त्र उच्चारणसहित रक्षाबन्धन बाँध्ने परम्परा छ । धार्मिक मान्यताअनुसार वैदिक विधिबाट मन्त्रिएको रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ ।

तागाधारी समुदायमा भने नयाँ जनै अर्थात् यज्ञोपवीत धारण गर्ने विशेष दिनका रूपमा लिइन्छ । श्रावण शुक्ल चतुर्दशीदेखि नै कपाल मुण्डन गरी एक छाक मात्र भोजन गर्दै चोखोनितो भएर व्रत बस्ने परम्परा रहिआएको छ ।

पूर्णिमाको बिहान स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक विधिअनुसार मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ‘ऋषितर्पणी’समेत भनिन्छ ।

वैदिक परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको प्रतीकका रूपमा समेत व्याख्या गरिएको पाइन्छ । विभिन्न ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमार्दै तयार पारिने क्वाँटी विशेष परिकारका रूपमा खाने चलन छ ।

वर्षायाममा शरीरलाई आवश्यक पोषण प्रदान गर्ने तथा रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्ने विश्वासका कारण क्वाँटीको सांस्कृतिकसँगै स्वास्थ्यसम्बन्धी महत्त्व पनि रहेको मानिन्छ । तराई क्षेत्रमा भने जनैपूर्णिमा ‘राखी’ पर्वका रूपमा समेत लोकप्रिय छ ।

दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर आपसी स्नेह, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने परम्परा छ ।

पछिल्ला वर्षमा यो चलन पहाडी तथा अन्य क्षेत्रमा पनि विस्तार हुँदै गएको छ । जनैपूर्णिमाका अवसरमा देशका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा मेला पनि लाग्ने गर्दछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!