
विराटनगर । विराटनगर-६ शनिमन्दिर छेउमा रहेको पूर्वाञ्चल आयल सप्लायर्सलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्तालाई इन्धन ठगी गरेको पाइएपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले जरिवाना गरेको हो ।
स्टान्डर्ड नापतौल ऐन, २०२५ को दफा ३० को उपदफा १ (ङ) अनुसार पूर्वाञ्चल आयललाई जरिवाना गरिएको हो ।
‘स्टान्डर्ड नापतौल ऐन २०२५ अनुसार मंगलबार एक लाख जरिवाना गरेका हौँ’, गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले संगालोखबरसँग भने, ‘कैफियत देखिएका नोजलहरू हटाएर नयाँ जडानपछि जाँचपास गराएर पुनः सुचारु गर्ने भन्ने निर्णय भएको छ ।’
उनका अनुसार जाँचपासपछि आजबाट उक्त पेट्रोल पम्प सञ्चालनमा आएको छ । उक्त पेट्रोल पम्पमा गतभदौ १ गते कार्यालयले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सो पेट्रोल पम्पले ५ लिटर पेट्रोलमा ६० मिलिलिटर र ५ लिटर डिजेलमा १०० मिलिलिटरसम्म कम इन्धन दिएको पाइएपछि सिलबन्दी गरिएको थियो । अनुगमनका क्रममा पेट्रोल पम्पमा रहेका तीन वटा नोजलमध्ये दुई वटामा कैफियत भेटिएको थियो ।

संगालोखबर 














