
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बाँकी रकम जनप्रतिनिधिको सेवा-सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धता आवश्यक रहेको भन्दै विराटनगरले सहयोगको निर्णय गरेको हो ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भोटेकोशीमा भएको विपद् कुनै एक भूगोल वा समुदायको मात्रै समस्या नभई सिंगो मुलुकको साझा पीडा भएको बताए । विपद्को समयमा राज्यका निकायसँगै स्थानीय तह, निजी क्षेत्र, संघसंस्था तथा नागरिक समाजले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन । पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै मानवीय जिम्मेवारी हो’, कोइरालाले भने, ‘भोटेकोशीका नागरिकको दुःखमा विराटनगर महानगरपालिका सँगै छ ।’
महानगरपालिकाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले विपद्का बेला स्थानीय तहबीचको सहकार्यले राष्ट्रिय एकता र मानवीय उत्तरदायित्वलाई थप बलियो बनाउने बताए ।
‘विपद्को पीडा जिल्ला, स्थानीय तह वा सीमाले छुट्याउने विषय होइन’, शर्माले भने, ‘भोटेकोशीमा परेको संकटमा विराटनगरले आफ्नो सामर्थ्यअनुसार साथ दिनु राष्ट्रिय एकता र मानवीय उत्तरदायित्वको अभ्यास हो ।’

संगालोखबर 














