
विराटनगर । रसुवा, धादिङ र नुवाकोटलगायतका जिल्लामा आएको भीषण बाढीका कारण बेपत्ता भएका मोरङका बासिन्दाको विवरण उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ ।
कामको सिलसिलामा ती क्षेत्रमा पुगेका मोरङका केही व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा आज जारी गरिएको सूचनामा बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा गएका व्यक्तिहरू सम्पर्कविहीन भएका भए उनीहरूको नामथर, वतन र सम्पर्क नम्बर उपलब्ध गराउन सम्बन्धित परिवार तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।
सम्पर्कविहीन व्यक्तिको विवरण जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) मोरङमा उपलब्ध गराउन सकिनेछ । त्यसका लागि टोल फ्री नम्बर १२३४ वा ल्यान्डलाइन नम्बर ०२१-५७०३८३ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।


संगालोखबर 














