संगालोखबर


विराटनगर । विराटनगरका सात आँखा अस्पतालमा लगाइएको ताला दुई सातापछि खोलिएको छ । प्रशासनले साउन २७ र २८ गते गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएको भन्दै सिलबन्दी गरेका सातवटै अस्पतालको ताला आज खोलिएको हो ।

अस्पतालमा सिलबन्दी गरिएपछि व्यवसायीहरू प्रशासनले अनावश्यक दुःख दिएको भन्दै तत्कालै ताला खोलिनु पर्ने आवाज उठाउँदै आएका थिए ।

प्रशासनले विराटनगर-१४ को विराट आँखा अस्पताल, विराटनगर-१५ को इफराह आँखा अस्पताल, विराटनगर-१० को सञ्जीवनी आई केयर र विराटनगर-१३ को हिमाल आँखा अस्पतालमा ताला लगाएको थियो ।

यस्तै विराटनगर-९ को विराट रानी आँखा अस्पताल, विराटनगर-१५ को अखण्ड ज्योति आँखा अस्पताल र विराटनगर-१३ को नेपाल आँखा अस्पतालमा पनि प्रशासनले सिलबन्दी गरेको थियो ।

सोमबार मात्रै कोशी प्रदेश सभामा आँखा अस्पतालमा ताला लगाएको विषयमा आवाज उठेको थियो । लाइसेन्स दिने, अनुगमन गर्ने र नियमन गर्ने निकाय प्रदेश सरकारको भएपनि प्रशासनले अस्पतालहरूमा ताला लगाउँदा प्रदेशलाई सूचनासमेत नदिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारको प्रदेश सभा बैठकमा बताएका थिए ।

मुख्यमन्त्री कार्कीले बन्द अस्पतालको ताला खोल्न निर्देशनसमेत दिएका थिए । ताला खोलिएसँगै अस्पतालमा बिरामीको चहल-पहल देखिन थालेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामी तालाबन्दीपछि बिचल्लीमा परेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!