संगालोखबर


विराटनगर । विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

गतवर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डीपीएस) द्वितीय भएको छ । डीपीएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्यो ।

त्यसैगरी सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन एकेडेमी र रंगेलीको मिनिल्याण्ड स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरे ।

मोरङका १७ वटा स्थानीय तहबाट छनौट भएका ४८ विद्यालयका विद्यार्थीहरू जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी भएका थिए । प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सहभागी विद्यालयलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । जसमध्येबाट उत्कृष्ट १२ विद्यार्थी फाइनलका लागि छनौट भएका थिए ।

प्रतियोगिताको उद्‌घाटन कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले गरेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले शिक्षा क्षेत्रको नीतिगत तथा व्यावहारिक विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउन र आत्मविश्वास बढाउन ठूलो सहयोग पुग्ने धारणा राखे ।

विजेता विद्यार्थीहरूलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, कोशी प्रदेश कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!