
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित ब्राईट भिजन ल कलेजद्वारा आयोजित दोश्रो संस्करणको मुटकोर्ट (नमूना अदालत) प्रतियोगिताको समापन समारोहमा बोल्दै विद्यार्थीको प्रस्तुतीको उच्च प्रशंसा गरेका छन् ।
उनले मुटकोर्ट प्रतियोगिता कानुनका विद्यार्थीका लागि अत्यन्त आवश्यक रहेको बताउँदै प्रदेश सरकारले अदालती अभ्यास प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको जानकारी दिए ।
कानुनका विद्यार्थी हरेक क्षेत्रमा प्रतिष्पर्धी हुने भएकाले यो अभ्यासले उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो।
सोही कार्यक्रममा सामाजिक विकास मन्त्री गीता तिम्सीनाले ब्राईट भिजन कलेजले कानुनका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले कानुनका विद्यार्थीको क्षमता विकासमा प्रदेश सरकारले सरकारी र निजी कलेजका उत्पादन भनेर कुनै विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कलेजका प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले मुटकोर्टले अदालतको अनुशासन कायम गर्न मद्दत गर्नुका साथै विद्यार्थीमा सिर्जनात्मक र विश्लेषणात्मक सोचको विकास गराउने बताए ।
कानुनका विद्यार्थी केवल ब्राइट भिजनका नभएर राज्यकै जनशक्ति भएको उल्लेख गर्दै उनले प्रदेशका १३७ वटै स्थानीय तहमा प्रदेश कानुनबारे सञ्चार गर्न विद्यार्थीहरूलाई प्रयोग गर्न र प्रदेश मन्त्रालय तथा निकायहरूमा इन्टर्नसीपको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरे ।
गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगितामा बीएएलएलबीका पाँचवटै सेमेष्टरका २५ समूहका १०० जना विद्यार्थीको सहभागिता रहेको थियो। उच्च अदालत विराटनगरका न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली निर्णायक रहेको प्रतियोगिताको फाइनलमा विद्यार्थीहरूले संगठित अपराधसम्बन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए ।
समग्र प्रतियोगितामा सुनचोरी तथा पैठारी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दाहरू समेटिएका थिए । प्रतियोगिताको उपाधि बीभीएलसी ८१७ समूहका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतमले जितेका छन् ।
प्रथम हुने समूहले नगद १२ हजार र ट्रफी प्राप्त गरेको छ ।त्यसैगरी, बीभीएलसी ८०८ समूहका उन्नती पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतको समूह दोस्रो भई नगद ७ हजार र ट्रफी जित्न सफल भयो ।
आमोद वस्ती, सञ्जय घिमिरे, कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेस्रो हुँदै नगद ४ हजार र ट्रफी प्राप्त गर्दा उत्कृष्ट बहसकर्ताको उपाधि प्रतिष्ठा पोखरेलले जितिन् । उनले नगद ४ हजार र ट्रफी हात पारिन् ।
कलेजले गतवर्षदेखि सुरु गरेको यस मुटकोर्ट अभ्यासले मुद्दाको तयारी, कानुनी आधार खोज्ने र अदालतमा प्रभावकारी ढंगले बहस प्रस्तुत गर्ने व्यावहारिक सीप विकास गर्न ठूलो सहयोग पुगेको सहभागी विद्यार्थीहरूले बताएका छन् ।

संगालोखबर 













