
विराटनगर । विराटनगरको शनिमन्दिर छेउमा रहेको पूर्वाञ्चल आयल सप्लायर्सका सञ्चालक ओमप्रकाश अग्रवालमाथि गुणस्तर तथा नापतौल कार्यालयले थप प्रक्रिया अघि बढाएको छ ।
उपभोक्तालाई इन्धनमा ठगी गरेको आरोप लागेका अग्रवालको बयान कार्यालयले बिहीबार नै लिइसकेको छ । बयान सकिएसँगै थप प्रक्रिया अघि बढाइएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले बताए ।
भदौ १ गते कार्यालयले गरेको अनुगमनका क्रममा सो पेट्रोल पम्पले ५ लिटर पेट्रोलमा ६० मिलिलिटर र ५ लिटर डिजेलमा १०० मिलिलिटरसम्म कम इन्धन दिएको पाइएपछि सिलबन्दी गरिएको थियो ।
अनुगमनका क्रममा पेट्रोल पम्पमा रहेका तीन वटा नोजलमध्ये दुई वटामा कैफियत भेटिएको झाले जानकारी दिए । ‘सञ्चालकसँगको बयान सकियो । अन्य प्रक्रियाहरू बाँकी नै छन्’, झाले संगालोखबरसँग भने, ‘प्रतिवेदन तयार भएपछि थप प्रक्रिया अघि बढ्छ ।’
प्रतिवेदन आएपछि कुन दफा अनुसार कारबाही अघि बढाउने भन्ने यकिन हुने उनको भनाइ छ । घटी नापतौल लगभग प्रमाणित भइसकेपनि बाँकी प्रक्रिया प्रतिवेदनका आधारमा अघि बढाइने उनले जानकारी दिए ।
स्टान्डर्ड नाप र तौल ऐन, २०२५ को दफा १९ (क) र (ख) को उपदफा २ अनुसार यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।


संगालोखबर 













