
विराटनगर । विराटनगरको ब्राइट भिजन ल कलेजको आयोजनामा जारी ‘मूटकोर्ट’ (नमूना अदालत) प्रतियोगिताको फाइनल भोलि हुने भएको छ ।
गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरण, क्वाटरफाइनल र सेमिफाइनलका प्रतिस्पर्धा सम्पन्न भएसँगै दुई समूहबीच भोलि फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।
फाइनलमा बीभीएलसी ८१७ समूहबाट रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम तथा बीभीएलसी ८०८ समूहबाट उन्नति पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतले प्रतिस्पर्धा गर्नेछन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने फाइनल प्रतियोगितामा उच्च अदालतका न्यायाधीशहरूको उपस्थिति रहने कलेजले जनाएको छ । प्रतियोगितामा विद्यार्थीहरूले काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गर्दै अदालतमा हुने बहस तथा अदालती प्रक्रियाको नमूना अभ्यास गर्नेछन् ।
कानुनका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा अभ्यासगत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा यस वर्ष २६ वटा समूहले सहभागिता जनाएका थिए ।
विद्यार्थीलाई अदालतमा हुने बहस, मिसिल तयार गर्ने तरिका, बहसनोट लेखन तथा अदालती प्रक्रियाका विषयमा व्यावहारिक जानकारी गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए ।
उनका अनुसार मूटकोर्ट अभ्यासले विद्यार्थीलाई कानुनका विषयवस्तु अध्ययनसँगै अदालतमा हुने बहस र न्यायिक प्रक्रियालाई नजिकबाट बुझ्न सहयोग हुन्छ । ब्राइट भिजन ल कलेजले गत वर्षदेखि मूटकोर्ट प्रतियोगिता आयोजना गर्दै आएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद १३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने समूहले ७ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने समूहले ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट बहसकर्ता र उत्कृष्ट बहसनोट तयार गर्ने विद्यार्थीलाई जनही ४ हजार रुपैयाँसहित सम्मान गरिने कलेजले जनाएको छ ।

संगालोखबर 













