
विराटनगर । विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको लागि तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई भव्य बनाउन तयारी तीव्र पारिएको हो ।
यसवर्ष भदौ २० गते निकालिने रथयात्राको तयारी तीव्र पारिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
‘रथ निकालिने रुटको निरीक्षण पनि गरिसकियो’, उनले संगालोखबरसँग भने, ‘एक/दुई स्थानमा केही समस्या देखिएको छ । सम्बन्धित पक्षलाई जानकारी गराइसकेका छौं ।’ उनका अनुसार यस वर्ष रथमा कुनै परिवर्तन हुने छैन ।
गत वर्ष निर्माण गरिएको रथलाई रंगरोगन र श्रृङ्गार गरेर आकर्षक बनाएर निकालिने उनले जानकारी दिए । ‘हामीसँग रथ तयार छ’, उनले भने, ‘त्यसलाई आकर्षक बनाएर निकाल्ने मात्र हो । कुनै परिवर्तन हुँदैन ।’
रथले विराटनगर बजारको करिब ९ किलोमिटर यात्रा तय गर्नेछ । उनले यसपटक झाँकीको संख्या बढ्ने जानकारी दिए । ‘अहिले झाँकीहरू धमाधम दर्ता भइरहेका छन् । गतवर्षको तुलनामा झाँकीको संख्या थपिन्छ’, उनले भने, ‘यसपटक झाँकीको संख्या ९० वटा पुग्ने अनुमान छ ।’
उनका अनुसार न्यून खर्चमा नै रथ यात्रा सम्पन्न हुनेछ । उनका अनुसार रथयात्रालाई भव्य र व्यवस्थित बनाउने विषयमा महानगर र जिल्ला प्रशासन कार्यालयमा सोमबार बैठक राखिएको छ ।
वि.सं. १९८८ सालमा खट यात्राबाट सुरु भएको रथयात्रा अवलोकनका लागि नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत लाखौं भक्तजनहरू आउने गरेका छन् ।

संगालोखबर 













