
धनकुटा । धनकुटा बजारको हुलाक टोलमा सञ्चालित होटल तथा लजहरूमा छड्के अनुगमन गरिएको छ । सेवाग्राहीहरूको गुनासोपछि बजारमा सञ्चालित करिब आधा दर्जन होटल तथा लजहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा होटलको भान्सा सरसफाइ नभएको, खाने कुरा व्यवस्थापन नभएको, मूल्य सूची टाँस नगरिएको र आवश्यक मापदण्ड विपरीत सञ्चालन गरिएको लगायतका कैफियत पाइएको छ ।
यस्तै होटलमा रहेका कोठा तथा बेड व्यवस्थापन तथा सरसफाइ नभएको र शौचालय तथा बाथरुम फोहोर पाइएको छ । अनुगमनका क्रममा होटलहरूमा मूल्य सूची टाँस गर्न, म्याद गुज्रेका अखाद्य बस्तु बेचबिखन नगर्न र सरसफाइमा ध्यान दिन अनुगमन टोलीले निर्देशन दिएको छ ।

यस्तै खान योग्य खानेकुरा मात्रै बिक्री गर्न र सेवाग्राहीलाई बढी मूल्यमा सामान नबेच्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य अनुसन्धान अधिकृत अमृता राईले जानकारी दिइन् ।
सेवाग्राहीको अत्याधिक गुनासो आएपछि छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि सहभागि थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













