
विराटनगर । उपभोक्ताको गुनासोपछि विराटनगरका पेट्रोल पम्पमा अनुगमन तीव्र पारिएको छ । सोही क्रममा आज विराटनगरका ४ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय लगायतका प्रतिनिधि सहभागि थिए ।
संयुक्त अनुगमन टोलीले पञ्जाबी पेट्रोल पम्प, रघुनाथ राय राधाकृष्ण पेट्रोल पम्प, सुनसरी ट्रेडिङ र अन्नपूर्ण सप्लायर्समा अनुगमन गरेको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले जानकारी दिए ।
‘आकस्मिक अनुगमनका क्रममा कुनै कैफियत भेटिएन’, उनले संगालोखबरसँग भने, ‘नापतौलमा कुनै समस्या देखिएन । शनिमन्दिरको पूर्वाञ्चल सप्लायर्सलाई भने कारबाही प्रक्रिया अघि बढाइएको छ ।’ उपभोक्तालाई ठगेको पाइएपछि सोमबार अनुगमन टोलीले पूर्वाञ्चल सप्लायर्समा सिलबन्दी गरेको थियो ।
जनगुनासो बढ्न थालेसँगै अनुगमनलाई तीव्र पारिएको प्रमुख झाले जानकारी दिए । अनुगमनका क्रममा कैफियत भेटिएका कारबाही गरिने उनले बताए ।

संगालोखबर 













