
विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले पदभार ग्रहण गरेका छन् । स्वास्थ्य मन्त्री पराजुलीले आज पदभार ग्रहण गरेका हुन् ।
उनीसँगै स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै स्वास्थ्य मन्त्री पराजुलीले महत्वपूर्ण निर्णय गरेका छन् । उनले प्रदेशका १४ वटै जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रदेश भित्रका सबै जिल्ला अस्पताललाई ५० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गर्न आवश्यक अघि बढाउँदै लग्ने र सरकारको नीति अनुसार सबै अस्पताललाई ५० शैयाको बनाउने उनले निर्णय गरेका हुन् ।

यसअघि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा समावेश भएसँगै एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको मन्त्रालय हेरफेर भएको हो ।

संगालोखबर 













