
धनकुटा । धनकुटा उद्योग वाणिज्य संघमा अध्यक्षसहित पदाधिकारी पदका लागि प्यानल मै प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कृष्णराज श्रेष्ठ र रामबहादुर रायासहित अन्य पदमा प्यानलनै भिड्ने भएका हुन् ।
निर्वाचन प्रक्रिया अघि बढेसँगै केही पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन् भने अध्यक्षसहित अन्य पदमा निर्वाचन हुने भएको छ । वाणिज्य संघमा पदाधिकारीतर्फ महासचिवमा उज्वल कर्माचार्य निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी वस्तुगततर्फ सदस्य पदमा तुमराज लिम्बू, सफल राई र लिजा श्रेष्ठ निर्विरोध चयन भएका छन् । उद्योग सदस्यतर्फ राजु प्रधान तथा महिला सदस्यतर्फ गंगामाया गुरुङ र प्रमिसा श्रेष्ठ थापा पनि बिना प्रतिस्पर्धा निर्वाचित भए ।
अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक/एक जना, उपाध्यक्ष दुई, महिला उपाध्यक्ष, सचिव र कोषाध्यक्ष एक/एक जना र पाँच सदस्य पदका लागि प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि सुरुमा तीन जनाको उम्मेदवारी परेको भए पनि मनकुमारी तितुङ ताराले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै कृष्णराज श्रेष्ठ र रामबहादुर रायाबीचको दुई प्यानलले निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । यसैगरी उपाध्यक्ष पदबाट विष्णुमाया कन्दङ्वाले उम्मेदवारी फिर्ता लिएकी छिन् । सदस्य पदमा ईश्वर घिमिरे, कृषललाल जोशी, शिवबहादुर कटुवाल र विपिन दाहालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्विरोध निर्वाचित हुने सातै जना राया नेतृत्वको प्यानलका हुन् । मनोनयन फिर्ता लिने समय आइतबार दिउँसो ३ बजेसम्म निर्धारण गरिएता पनि उम्मेदवारहरूको आग्रहपछि सोमबार दिउँसो ३ बजेसम्म मनोनयन फिर्ता लिन सकिने गरी निर्वाचन तालिका संशोधन गरिएको थियो ।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठ र राया प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा नगेन्द्रप्रसाद काफ्ले र सुनिता पौडेल, महिला उपाध्यक्षमा निर्मला राई (श्रेष्ठ), सचिवमा महेन्द्र थापा र कोषाध्यक्षमा प्रविण पोखरेल उम्मेदवार हुन् ।
यस्तै सदस्य पदमा गोविन्द दाहाल, देवबहादुर विश्वकर्मा, भैरा राई, सागर तामाङ र शोभा श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै राया नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अम्बिकादेवी धमला, उपाध्यक्षमा रिदम श्रेष्ठ र सरस्वती मगर, महिला उपाध्यक्षमा रेजिना पालिखे, सचिवमा उर्गेन शाक्य तथा कोषाध्यक्षमा रूपेश श्रेष्ठ उम्मेदवार हुन् । सदस्यतर्फ निरोज श्रेष्ठ, देवेन्द्र प्रधान, मुना पोखरेल, शिशिर श्रेष्ठ र शिवपुजन शाह चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन हुने निश्चित भएसँगै दुवै पक्षका उम्मेदवारहरूले व्यवसायीका समस्या र व्यावसायिक हितका विषयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता-पत्र सार्वजनिक गरेका छन् ।
व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, कर तथा नीतिगत सुधार, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्या समाधानलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
स्थानीय उद्योगी तथा व्यवसायीका समस्या समाधान गर्दै धनकुटाको व्यापारिक गतिविधि विस्तार, नयाँ लगानी आकर्षित गर्ने वातावरण निर्माण र व्यवसायिमैत्री नीति निर्माणका लागि उद्योग वाणिज्य संघको नेतृत्व प्रभावकारी हुनुपर्ने विषयलाई उम्मेदवारहरूले जोड दिएका छन् ।
निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार संघको निर्वाचन भदौ ६ गते हुँदैछ ।

सन्तोष सुवेदी/संगालोखबर 













