संगालोखबर


विराटनगर । विराटनगरको एक पेट्रोल पम्पले उपभोक्तालाई ठगी गरेको पाइएपछि सिल गरिएको छ । विशेष सूचनाका आधारमा गुणस्तर तथा नापतौल कार्यालयले सोमबार गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि पेट्रोल पम्प सिल गरिएको हो ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाका अनुसार शनिमन्दिरस्थित पूर्वाञ्चल सप्लायर्समा सिलबन्दी गरिएको हो । ‘उक्त पेट्रोल पम्पमा तीन वटा नोजल रहेछन्’, उनले संगालोखबरसँग भने, ‘दुई वटा नोजलबाट ठगी गरेको पाइयो ।’

डिजलको नोजलमा ५ लिटरमा १०० मिलिलिटर ठगी गर्ने गरेको भेटिएको उनले बताए । यस्तै पेट्रोलको एउटा नोजलमा ५ लिटरमा ६० मिलिलिटर ठगी भएको देखिएको उनको भनाइ छ ।

‘एउटा डिजेल र एउटा पेट्रोलको नोजलबाट ठगी भएको भेटियो’, उनले थपे, ‘अर्को एउटा पेट्रोलको नोजलमा समस्या भेटिएन ।’ दुई वटा नोजललाई सिल गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी थालिएको उनले बताए ।

‘के गरेर ठगी गरेको रहेछ हामी पहिला अनुसन्धान गर्छौं’, उनले भने, ‘मेसिनमा समस्या आएको होकी, जानाजान ठगी गरेको हो भन्ने यकिन भएपछि थप प्रक्रिया अघि बढाउछौँ ।’

यस्तै विराटनगर-८ को ऐश्वर्य सप्लायर्स एण्ड ट्रेडर्समा पनि अनुगमनका क्रममा कैफियत पाइएको उनले जानकारी दिए ।

‘मट्टितेल लिटरबाट बेच्नुपर्ने हो । तर, त्यहाँ मेसिन जडान गरेको रहेछ’, उनले भने, ‘तर मेसिन हामीकहाँ दर्ता नगरेको पाइयो । त्यसमाथि त्यो मेसिनबाट कति लिटर मट्टितेल निक्लियो भन्ने देखाउँदैन ।’

यसको पनि अनुसन्धान गर्ने तथा सञ्चालकसँग सोधपुछ गरेपछि थप कुरा खुल्ने उनको भनाइ छ । ‘मेसिन जडान मात्र भएको हो की त्यसबाटै बेचबिखन हुँदै आएको हो भन्ने कुरा खोज्दै छौँ’, उनले थपे, ‘थप परीक्षण र अनुसन्धानबाट बाँकी कुरा खुल्छ ।’

दुवै ठाउँमा ठगी भएको देखिएपनि अहिले कुन दफा अनुसार कारबाही गर्ने भन्ने यकिन हुन बाँकी रहेको उनको भनाइ छ । ‘कारबाही हुने निश्चित हो । कैफियत देखिएपछि कारबाही त भइहाल्छ’, उनले थपे, ‘मेसिन पुरानो भएकाले समस्या भएको होकी, जानाजान गरेको हो, पत्ता लगाउने प्रक्रिया अघि बढाएका छौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!