
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ हिलेखर्कका ३८ वर्षीय ओमबहादुर रानामगरको शव गौँथली भीरमा फेला परेको छ । साउन २९ गतेदेखि सम्पर्कविहीन भएका उनको शव सोमबार निकालिएको हो ।
वास्तु पूजामा सहभागी हुन साउन २९ गते घरबाट निस्किएका रानामगर सोही दिन राति ९ बजेसम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्कविहीन भएका उनको खोजी भइरहेको थियो ।
आफन्त तथा स्थानीयले खोजतलास गर्दा फेला नपरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो । खोजतलासका क्रममा साउन ३१ गते घरदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको गौँथली भीरमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
अत्यन्तै भिरालो स्थानमा रहेको शव नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ३४ जनाको संयुक्त टोलीले सोमबार अपराह्न ४ बजे निकालेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
पैदल यात्राका क्रममा लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमको तयारी भइरहेको डीएसपी भण्डारीले जानकारी दिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













