संगालोखबर


विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमति बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मन्त्रिमण्डलमा नेकपालाई चार मन्त्री र एक राज्यमन्त्रीसहित सहभागि गराएर मन्त्री परिषद् विस्तार गरिएको हो ।

मुख्यमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री रहेको ११ सदस्यीय नयाँ मन्त्रिमण्डलमा ३ जना महिला समेटिएका छन् । खिनु लिम्बूको नेतृत्वमा नेकपा प्रदेश सरकारमा सहभागि भएको छ । लिम्बूले पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । नेकपाका जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री, गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून मन्त्री र गीता तिम्सिना सामाजिक विकास मन्त्री हुँदा सपना दर्जीले भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

यता, तालमेलका क्रममा एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको मन्त्रालय हेरफेर भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई मन्त्रालय परिवर्तन गरेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।

सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई पनि मन्त्रालय फेरेर उद्योग कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ भने आन्तरिक मामिला मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्य मन्त्रालयको राज्यमन्त्री बनाइएको छ । मन्त्रिमण्डलमा एमालेका विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री र तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमै यथावत छन् ।

एमाले र नेकपाबीच सहकार्य गर्ने गरी केन्द्रमा सहमति भएपछि साउन २७ गते काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएर सरकारबाट काँग्रेस बाहिरिएको थियो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!