
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति भएको छ । सहमतिपछि म्यानपावर व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राखेर साउन २९ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाएको थियो । संघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच आज भएको छलफलपछि सरकारले व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय रहेको उल्लेख छ ।
वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको पत्रमा उल्लेख छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारबाट प्राप्त सकारात्मक प्रतिबद्धतालाई ध्यानमा राख्दै हाल सञ्चालनमा रहेका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।
सरकारले आगामी दुई महिनाभित्र विभागीय सुधार तथा नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले उल्लेख गरेको छ । त्यस अवधिमा भएका प्रगतिको निरन्तर निगरानी, समन्वय र समीक्षा गर्ने पनि सहमति भएको छ ।
तोकिएको समयभित्र प्रतिबद्धताअनुसार ठोस उपलब्धि हासिल नभए व्यवसायीहरूको वृहत छलफल तथा प्राप्त म्यान्डेटअनुसार आवश्यक थप संघर्षका कार्यक्रम अघि बढाउने अधिकार संघले सुरक्षित राखेको छ ।

संगालोखबर 












