
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व नाग पञ्चमी आज देशभरका नाग दह, कुण्ड र घरघरमा नागको तस्बिर टाँसी श्रद्धा र भक्तिका साथ मनाइँदै छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभरि विषालु जीव, अग्नि र चट्याङको भय नहुने धार्मिक विश्वास रहेको छ ।
आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ ।
नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ । साथै, यसरी नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ ।
शास्त्र अनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने विधान छ । नाग पञ्चमीका दिन ‘नाग स्तोत्र’ पाठ गर्दै नागको तस्बिर टाँस्ने गरिन्छ ।

संगालोखबर 












