
विराटनगर । विराटनगरका सात वटा आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले सिलबन्दी गरेको प्रति सञ्चालकहरूले आपत्ति जनाएका छन् ।
आँखा अस्पताल सञ्चालकहरूले आज पत्रकार सम्मेलन गर्दै जनस्वास्थ्य सेवा ऐन विपरीत प्रशासनले सिलबन्दी गरेको बताएका हुन् । उनीहरूले तत्काल सिलबन्दी नखोले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आँखा अस्पताल सञ्चालकहरूले प्रशासनको कदमले कानुनी राज्यको उपहास गरेको र प्रदेश सरकारको क्षेत्राधिकारमाथि नाङ्गो हस्तक्षेप गरेको उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा साउन २७ र २८ गते गरिएको अनुगमनका क्रममा सात वटा आँखा अस्पतालमा सिलबन्दी गरिएको थियो ।
प्रशासनले मापदण्ड नपुगेको भन्दै सिलबन्दी गरिएको उल्लेख गरेको थियो । विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति आँखा अस्पताल, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा सिलबन्दी गरिएको छ ।
आँखा अस्पताल व्यवसायी संघ समितिका सचिव तेजलाल कर्णले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर ऐन र नियमावलीबारे जानकारी गराउने बताए । त्यसपछि पनि अस्पताल नखोलिए कानुनी उपचारसँगै आन्दोलनमा उत्रने उनको भनाइ छ ।
विराट रानी आँखा अस्पतालका सञ्चालक राजेश प्रसाईले जनस्वास्थ्य सेवा ऐन २०७५ को प्रक्रिया मिचेर अस्पताल बन्द गरिएको बताए ।
अस्पतालहरू बन्द हुँदा उपचारका लागि आएका सयौँ बिरामी, विशेषगरी शल्यक्रियाको पर्खाइमा रहेका र फलोअपमा रहेकाहरू मर्कामा परेका सञ्चालकहरूले जानकारी दिए ।

संगालोखबर 












