संगालोखबर
फाइल तस्बिर

विराटनगर । एलपी ग्यासको वितरण व्यवस्थापनलाई अनुशासित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले अनुगमनका क्रममा कैफियत भेटिएका पसल तथा उद्योगहरूलाई कारबाही पनि गर्दै आएको छ ।

सोही क्रममा प्रशासनले रिजालको भान्सा ग्यास उद्योगलाई कारबाही गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले आज प्रेस विज्ञप्ति जारी गर्दै साउन २७ गते गरिएको अनुगमनको विवरण सार्वजनिक गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले ग्यास पसल तथा उद्योगमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले बूढीगङ्गा गाउँपालिका-५ स्थित रिजालको भान्सा ग्यास उद्योगले ग्यास बुलेटको अभाव देखाउँदै उद्योग बन्द गरेको भेटिएको थियो ।

उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिन्डरको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा २४० ग्राम कम तौल पाइएको प्रशासनले जनाएको छ । साथै, म्याद गुज्रेका दुई वटा सिलिन्डरमा समेत ग्यास रिफिल गरी सिल लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो ।

उद्योगमा कैफियत भेटिएपछि प्रशासनले २ लाख ९५ हजार रुपैयाँ जरिवाना गराएको छ । म्याद गुज्रेका सिलिन्डर समेत ग्यास निकालेर नष्ट गरिएको प्रशासनले जनाएको छ ।

यस्तै विराटनगर महानगरपालिका-३ स्थित कञ्चनेश्वर ग्यास पसलले जाँचबुझ तथा निरीक्षण गर्दा टोलीलाई सहयोग नगरेकाले १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । प्रशासनले आगामी दिनमा यस्तो लापरबाही नगर्न चेतावनी दिएको छ ।

केही दिनअघि पनि प्रशासनले कोशी ग्यास उद्योग र केही ग्यास डिलरलाई कैफियत भेटिएपछि जरिवाना गरेको थियो । पछिल्लो समय ग्यास अभाव भएको भन्दै गुनासो बढ्न थालेसँगै प्रशासनले अनुगमनलाई तीव्र बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!