
विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक र कर्मचारी धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत मोरङले बुधबार चारै जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश शिवप्रसाद खनालको इजलासले सबै जनासँग धरौटी रकम माग गर्दै मुद्दाको पुर्पक्ष गर्न पाउने आदेश दिएको छ ।
अदालतको आदेशअनुसार सुन्दरहरैंचा नगरपालिका-१२ का ३३ वर्षीय अविरल मास्के, ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा नगरपालिका-२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापाको बुद्धशान्ति गाउँपालिका-६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटी बुझाएर रिहा भएका छन् ।
अदालतले मास्के, भट्टराई र नेपालसँग जनही १ लाख रुपैयाँ तथा गच्छदारसँग ७५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । अदालतको आदेशलगत्तै चारै जना तोकिएको धरौटी रकम बुझाएर रिहा भएका हुन् । प्रहरीले उनीहरूलाई साउन ४ गते पक्राउ गरेको थियो ।

संगालोखबर 












