
सुनसरी । सुनसरीको धरान-११ बाट १० तोला सुन र चार लाख नगद चोरीको आरोपमा दम्पतीसहित तीन जना पक्राउ परेका छन् ।
सुनसरी टेक्निकल कलेज अगाडि बस्ने राजु साहको घरबाट चार लाख नगदसहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा धरान-३ बस्ने २३ वर्षीय सुमित बराइली, उनकी २१ वर्षीया श्रीमती सम्झना बराइली र धरान-९ बस्ने १६ वर्षीय मनिष विकलाई नियन्त्रणमा लिएको छ ।
साहको घरको माथिल्लो तलाको कोठामा कोही नभएको मौका छोपी १० तोला सुन र नगद ४ लाख रुपैयाँ गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ४६३ रुपैयाँ, चाँदी तथा सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 













