संगालोखबर
फाइल तस्बिर

झापा । झापामा पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । मानव-हात्ती द्वन्द्व बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि बढेको हो ।

डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको छ ।

यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका देखाउँछ ।

कार्यालयका अनुसार २०८० सालमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

२०८२/८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही १० लाखका दरले राहत उपलब्ध गराइएको छ । कार्यालयको तथ्याङ्क अनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई र २०७२ मा चार जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए ।

यस्तै २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म छ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ ।

कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका थिए । वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जाँदा मानव-हात्ती द्वन्द्व बढेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!