
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको घटनास्थलमै दाहसंस्कार गरिएको छ ।
शुक्रबार राति दुवै जनाको हिन्दु परम्पराअनुसार घटनास्थलमै अन्त्येष्टि गरिएको हो । सशस्त्रको गोली लागेर देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो ।
पोस्टमार्टम गरेर दुवै जनाको शव परिवारलाई जिम्मा लगाइएपछि विराटनगरबाट कप्तानगन्जसम्म शवयात्रा निकालिएको थियो ।
त्यसपछि शव केही समयका लागि आ-आफ्नो घरमा राखी स्थानीय, आफन्त, नातेदार तथा परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए ।
मृतकका परिवार र नेपाल सरकारबीच सहमति भएपछि आफन्त शव उठाउन तयार भएका थिए । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको छलफलपछि शुक्रबार बिहान औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

संगालोखबर 













