
धनकुटा । धनकुटाकी एक मात्रै इलेक्ट्रिक गाडी (ईभी) चालक महिलालाई सम्मान गरिएको छ । बिहीबार धनकुटा नगरपालिका-६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्तरूपमा ईभी चालक महिला कुशला राईलाई सम्मान गरेका हुन् ।
सहिदभूमि गाउँपालिकला-४ घर भएकी राई लामो दूरीको सवारी चलाउने धनकुटाकी एक मात्रै महिला हुन् । उनलाई धनकुटा नगरपालिका-६ स्थित गोठ गाउँमा ईभी गाडी रोकेर स्थानीयहरूले फूलमाला र अबिर लगाएर प्रंशसा-पत्रले सम्मान गरेका थिए ।
दैनिक लामो दूरीमा सवारी चलाउँदै आएकी राईलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको मार्गेश्वरी टोल विकास संस्था धनकुटाकी अध्यक्ष तथा धनकुटा नगर कार्यापालिका सदस्य रेजिना हिङ्माङले बताइन् ।

‘महिलाहरू प्रायजसो घरभित्रका काममा मात्रै सीमित हुने हुँदा यो एउटा उदाहरणीय कार्य हो’, हिङ्माङले भनिन्, ‘उहाँले समाजमा एक साहसी महिलाको उदाहरण प्रस्तुत गर्नुभएको छ ।’
राईले दैनिक धनकुटाको महालक्ष्मीस्थित चानुवा डाँडागाउँबाट लेगुवा, पाख्रीबास, हिले, धनकुटा र धरान हुँदै इटहरीसम्म ईभी चलाउँदै आएकी छिन् । करिब २ वर्षदेखि आफूले गाडी कुदाउन थालेको राईले बताइन् ।
लामो दूरीमा भने एक महिनादेखि निरन्तर सवारी चलाइरहेको उनको भनाइ छ । महिला सवारी चालकका रूपमा आफूले सम्मान पाउँदा थप उर्जा र हौसला मिलेको उनले बताइन् ।

संगालोखबर 













