
धनकुटा । धनकुटाको हुलाक टोलमा बजार अनुगमन गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा भएको छड्के अनुगमनमा डेरी, मिठाई पसल र होटलमा अखाद्य बस्तु भेटिएपछि जरिवाना गरिएको हो ।
धनकुटाको भिमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका करिव आधा दर्जन डेरी र मिठाई पसलको अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा मिठाई पसलहरूमा पटक-पटक प्रयोग गरिएको तेल पुनः प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै तेलको लेभल न्यूनतम भन्दा बढी भएको र न्यूनतम मापदण्ड विपरीत प्रयोग गरेको पाइएको हो ।
त्यस्तै एउटा दूध डेरी मापदण्ड विपरीत सञ्चालन गरेको खुलेको छ । डेरीमा घ्यू उत्पादन र समापन मिति नराखिएको तथा सरसफाइ र बिलको प्रयोग समेत नभएको भेटिएको छ ।
कैफियत पाइएपछि प्रशासनले न्यु भुलन होटल, विद्यानन्द मुखियाले सञ्चालन गरेको मिठाई पसल, हेलो ब्रदर स्वीट एण्ड चाट हाउस र दुग्ध डेरी पसललाई ५/५ हजार जरिवाना तिराएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख प्रशासकीय अधिकृत रामजी पौडेलका अनुसार मिठाई पसलहरूबाट म्याद गुज्रिएका खाद्यान्न साथै तयारी खानेकुरा जफत गरेर नष्ट गरिएको छ ।
अधिकांश मिठाई पसलहरूमा मूल्यसूची नराखेको, अखाद्य वस्तु बिक्री गर्ने गरेको, सरसफाइमा ध्यान नदिएको, व्यवसाय दर्ता नभएको तथा अनावश्यक केमिकल प्रयोग गर्ने गरेको लगायतका कैफियत पाइएको छ ।
उक्त पसलहरूलाई आगामी दिनमा अखाद्य बस्तु नबेच्न सचेत गराइएको छ । पुनः गल्ति दोहोर्याएको खण्डमा कडा कारबाही गरिने अनुगमन टोलीले चेतावनी समेत दिएको छ ।
पछिल्लो समय सेवाग्राहीको गुनासो धेरै आउन थालेपछी धनकुटामा बजार अनुगमन तीब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा भएको अनुगमनमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाका प्रतिनिधि सहभागि थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













