
धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाकमा एक वर्षको अवधिमा करिब १ लाख ३१ हजार आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । वन्डर्स ग्रुपको लगानीमा सञ्चालित स्काई वाकमा आन्तरिकसँगै छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरू आउने गरेका छन् ।
स्काई वाकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भ्रमण गर्न आउने पर्यटकको तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष भ्रमणमा आउने पर्यटकको संख्या घटेको पाइएको छ ।
स्काई वाकका प्रबन्ध निर्देशक सञ्जीव रोकायका अनुसार अघिल्लो वर्ष १ लाख ७८ हजार पर्यटक आएका थिए । तर यो वर्ष करिब १ लाख ३१ हजारले मात्रै स्काई वाकको अवलोकन गरेका उनले जानकारी दिए ।
पूर्वको पर्यटकीय गन्तव्य भेडेटारमा २०८१ साउन ११ गतेबाट स्काई वाक सञ्चालनमा आएको थियो । पर्यटकीय स्थलमा आवश्यक संरचना निर्माणमा सरकारले लगानी गर्न नसकेपनि निजी क्षेत्रबाटै त्यो लक्ष्य प्राप्त भएको रोकायले बताए ।

भेडेटार पूर्वको एक उत्कृष्ट पर्यटकीय केन्द्र भएपनि यहाँको पर्यटनलाई थप बढाउन स्काई वाक सञ्चालनमा ल्याइएको वन्डर्स ग्रुपले जनाएको छ ।
करिब ११ रोपनी क्षेत्रफलमा निर्माण भएको स्काई वाक पर्यटकका लागि मुख्य गन्तव्यको केन्द्र बनेको छ । स्काई वाकमा सिसामाथि हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुने पर्यटकहरू बताउँछन् ।
स्काई वाकमा एक पटकमा २५ जनासम्म जान सकिने वन्डर्स ग्रुपले जनाएको छ । स्काई वाकमा चढ्नका लागि प्रतिव्यक्ति ५ सय शुल्क निर्धारण गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र तीन फिटभन्दा कम उचाइ भएका बालबालिकाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।

सन्तोष सुवेदी/संगालोखबर 

















