संगालोखबर


विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनापछि उनका श्रीमान् सम्पर्कविहीन छन् ।

मृतक सर्लाहीको लालबन्दी नगरपालिका-२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना हुन् । उनी आफ्ना श्रीमान् पर्साको वीरगञ्ज-१६ निवासी ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

Advertisement

मृत्युको कारण खुलिनसकेको र पोस्टमार्टमसहित घटनाको सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदा थियो ।

सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको थियो । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोनसमेत उठिरहेको थिएन ।

लुइँटेलका अनुसार दिनभर सम्पर्क हुन नसकेपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ताले उनको ह्वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोली कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो ।

स्थानीयवासीका अनुसार रतन गुप्ता आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिएका थिए । अहिले उनी सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!