संगालोखबर


सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज केहीबेर अघि सूचना जारी गर्दै अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव चुलिँदै हिंसात्मक अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गको दुवैतर्फ चार किलोमिटर तथा इनरुवा बजार क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ ।

प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा इटहरीको पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल, तथा उत्तर-दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्र तोकिएको छ ।

देवानगन्ज घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन उग्र बनेपछि सार्वजनिक सुरक्षा, शान्ति-सुव्यवस्था र सम्भावित थप अप्रिय घटना रोक्न कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ । प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

आइतबार राति देवानगन्ज-३ कप्तानगन्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज-४ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा गोली लागेर ९ जना घाइते भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!