
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा सेना परिचालन गरिएको छ । कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । आज बिहानदेखि कफ्र्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
यसअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका छन् । कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ । घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

संगालोखबर 

















