
विराटनगर । झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेका छन् । आज दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जीले ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीलाई खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट पत्नीलाई गम्भीर घाइते बनाएका धनबहादुर पनि कोठाको सिलिङ पंखामा झुन्डिएका प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार घटना हुनुभन्दा अगाडि उनीहरूबीच झगडा भएको पाइएको छ ।
विवादकै क्रममा धनबहादुरले पत्नीलाई टाउको र बायाँ हातमा खुकुरी प्रहार गरेर बोल्न नसक्ने अवस्था गम्भीर बनाएको डीएसपी अवाले जानकारी दिए । कोठामा बुबा झुण्डिएको देखेपछि छोरी प्रियंकाले पासो काटेर प्रहरीलाई खबर गरेकी थिइन् ।
घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोलीले दुवै जनालाई तत्काल दमक अस्पताल पठाएको थियो । तर गम्भीर अवस्थामा रहेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका डीएसपी अवाले जानकारी दिए । शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















