
धनकुटा । दिगो विकासका लक्ष्य कार्यान्वयनलाई प्रभावकारी बनाउन धनकुटा नगरपालिकाले बहुपक्षीय सुझाव संकलनको सुरुवात गरेको छ । स्थानीय तहको पहिलो स्वैच्छिक मूल्याङ्कन अन्तर्गत सरोकारवालासँग छलफल गरी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रतिवेदन तयार गर्दै सुझाव संकलनको सुरुवात गरेको हो ।
नगरपालिकाले दिगो विकासका १७ वटा लक्ष्यमध्ये गरिबीको अन्त्य, स्वस्थ जीवन र समुन्नत स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर पाँच वर्षीय कार्ययोजना तयार गरेको छ ।
भारत केन्द्रीय कार्यालय रहेको स्थानीय सरकारहरूको विश्वव्यापी सञ्जाल इक्लीको प्राविधिक सहयोगमा नगरले चारवटा क्षेत्रका सूचक संकलन, छलफल, पृष्ठपोषण र बहुपक्षीय सुझाव संकलन सुरु गरेको हो ।
इक्ली की विज्ञ सतरुपा रोयले चरणवद्धरूपमा सरोकारवाला संस्था, जनप्रतिनिधि र सम्बन्धित निकायसँग छलफल तथा पृष्ठपोषण लिएर राष्ट्रिय दिगो विकास लक्ष्यसँग मेल खाने प्रतिवेदन तयार गर्न सहयोग गरिरहेको बताइन् ।
धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, गरिबी निवारण र लैङ्गिक समानता सम्बन्धी तथ्य तथा तथ्याङ्क संकलन, विश्लेषण र आवश्यक पृष्ठपोषणसहित प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।

नगरले गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा, आयआर्जन, मातृ तथा शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, विद्यालय भर्ना, सिकाइको गुणस्तर, डिजिटल पहुँच, महिलाको नेतृत्व विकास तथा लैङ्गिक हिंसा न्यूनीकरणलगायत विषयमा सरोकारवालासँग छलफल गरिरहेको छ ।
प्राप्त सुझावका आधारमा आवश्यक नीति तथा कानुनी व्यवस्था गरेर कार्यान्वयनमा जाने नगर प्रमुख चिन्तन तामाङले बताए । उनले दिगो विकास लक्ष्य अन्तर्राष्ट्रिय दस्तावेज मात्र नभई नागरिकको जीवनस्तर सुधार्ने साझा मार्गचित्र भएको उल्लेख गरे ।
यसको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, नागरिक समाज साथै आम नागरिकको समान सहभागिता आवश्यक रहेको समेत उनको भनाइ छ ।
आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय संरक्षणलाई सँगै अघि बढाउँदै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्नु नेपालसहित विश्व समुदायको साझा दायित्व रहेको नगरप्रमुख तामाङले बताए ।
विश्वव्यापी रूपमा गरिबी, भोकमरी, असमानता, वातावरणीय विनाश र जलवायु परिवर्तनजस्ता चुनौतीको समाधान गर्दै आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २०१५ मा १७ वटा दिगो विकास लक्ष्य तय गरेको थियो । नेपालसहित सदस्य राष्ट्रहरूले ती लक्ष्य सन् २०३० भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 



















