संगालोखबर


धनकुटा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्क बहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह-इन्चार्ज बिष्णुमाया कन्दङवा र आरपी बास्तोला, हेमचन्द्र किराती लगायतको उपस्थिति थियो ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज राईले संघीय संविधानमा जनताका अधिकार सुनिश्चित भएको तर वर्तमान सरकारले लोकतन्त्रका मूल्य र मान्यताको रक्षा गर्न नसकेको बताए ।

वर्तमान सरकार एकात्मक, तानाशाही र निरंकुश हुँदै गएको तथा बहुमतको दम्भले ग्रसित सिंहदरबारको राज्य सत्ताले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउन लागिपरेको उनको भनाइ थियो ।

उनले प्रदेशलाई अस्थिर हुन नदिन प्रदेश सरकारमा नेकपा नेतृत्वको खोजी हुन थालेको बताए । प्रदेश र स्थानीय सरकार घरदैलोमा सेवा उपलब्ध गराउने जनताको नजिकको सरकार भएको उल्लेख गर्दै उनले प्रदेशले नागरिकको भावना र जन अपेक्षालाई आत्मसात गर्ने उल्लेख गरे ।

प्रदेशको संरचना मजबुत बनाउन धनकुटाबाट पार्टीलाई जनमत दिलाउन लागिपर्न प्रदेश संयोजक मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । जिल्ला संयोजक कुसुम श्रेष्ठ ‘जुली’ को अध्यक्षतामा भएको कार्यक्रममा २५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

नेकपाले एकताको सन्देश पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न तथा संगठन सुदृढीकरण गर्न  एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरेको प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिइन् । 

उनले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचारसंहिता-२०८३ जारी भएको र हाल अनलाइनबाट पार्टीको सदस्यता नवीकरण तथा वितरणको कार्य भइरहेको बताइन् । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!