
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाका १० वटै वडाका किसानलाई वितरण गर्ने भनिएको फलफूलका बिरुवाको ठेक्का रद्द गरिएको छ । नगरपालिका र हरिओम हाइटेक कृषि नर्सरी फार्मबीच भएको सम्झौता अनुसार गुणस्तरीय बिरुवा तोकिएको समयभित्र उपलब्ध गराउन नसकेपछि १४ लाखको ठेक्का रद्द गरिएको हो ।
नगरपालिकाले सबै वडामा सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत बगैँचा विस्तार गर्ने उद्देश्यले किसानलाई फलफूलका बिरुवा वितरण गर्ने कार्यक्रम संचालन सुरु गरेको थियो । सोही अनुसार नगरले बगैँचा विस्तार कार्यक्रमका लागि रौतहटको चन्द्रपुर-५ स्थित हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा ल्याउने सम्झौता गरेको थियो ।
तर आवश्यक परिमाण र गुणस्तरका बिरुवा समयमै उपलब्ध नभएपछि सम्झौता रद्द गरिएको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले बताए । कम्पनीलाई पटक-पटक मौखिक र लिखित ताकेता गरे पनि सम्झौता अनुसार बिरुवा उपलब्ध नभएको पौडेलले जानकारी दिए ।
सम्झौता अनुसार यसअघि ल्याइएका बिरुवासमेत कार्यालय परिसरबाट फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको उनको भनाइ छ । ७५ लाख रुपैयाँको विशेष अनुदानमध्ये फलफूलका बिरुवाका लागि २८ लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो ।
कम्पनीसँग मूल्य अभिवृद्धि करसहित १४ लाख रुपैयाँमा आँप, लिची, केरा, अम्बा र मेवाका बिरुवा ल्याउने सम्झौता भएको थियो । सम्झौताका सर्त पूरा नभएकाले गुणस्तरहीन बिरुवाको भुक्तानी गर्न नसकिने कृषि शाखा प्रमुख इन्द्रमाया तामाङले जानकारी दिइन् ।
कम्पनीका सञ्चालक हरिओम बानियाँले पहिलो पटक नै मापदण्ड अनुसारका स्वस्थकर बिरुवा आपूर्ति गरिएको बताए । सम्झौतामा भए अनुसारको बिरुवा नगरपालिकालाई उपलब्ध गराइसकेकाले सबै भुक्तानी दिनुपर्ने उनको माग छ ।
नगरपालिकाले बिरुवा समयमा वितरण नगर्दा ओइलाएर मर्न थालेको र बिरुवा मर्नुमा आफ्नो गल्ती नभएको भन्दै भुक्तानी दाबी गरेको कम्पनीको भनाइ छ । कृषि शाखाको गल्तीका कारण ठूलो नोक्सानी आफूले बेहोर्नु परेको बानियाँले बताए ।
नगरका १ हजार १ सय किसानले फलफूलका लागि नगरपालिकामा आवेदन दिएका थिए । विशेष अनुदानअन्तर्गत प्लास्टिक टनेल र पोखरी निर्माणको काम भने सम्पन्न भइसकेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 



















