संगालोखबर


धनकुटा । धनकुटा कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अनुगमनका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी रहेका पाइएको हो ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा गएको टोलीले कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको स्थलगत अनुगमन गरेको छ ।

Advertisement

अनुगमनका क्रममा कैदीबन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य, खानपान, सरसफाइ र उनीहरूमाथि हुने व्यवहारबारेमा जानकारी लिइएको थियो ।

कुल ३५ जनाको क्षमता रहेको पुरुष कक्षमा हाल १६९ जना कैदीबन्दी छन् । १५ जना क्षमता रहेको महिला कक्षमा भने ३ जना कैदीबन्दी छन् ।

इन्सेक संयोजक पोखरेलले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेको र उनीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुनुपर्ने अवस्था देखिएको बताए ।

‘सरकारको नीतिअनुसार कारागारलाई यातना गृहबाट सुधार गृहमा रूपान्तरण गर्नुपर्छ’, पोखरेलले भने, ‘कैदीबन्दीलाई समाजमा पुनर्स्थापित गर्न आवश्यक ज्ञान, सीप र नैतिकताको विकास गराउन राज्यले ध्यान दिनुपर्छ ।’

अनुगमनका क्रममा कैदीबन्दीहरूले खानपान, परिवारसँगको भेटघाट, रेडियो, टेलिभिजन र टेलिफोनको सुविधा रहेको बताएका छन् । कारागारभित्रै २० जना कैदीबन्दीले सामूहिक रूपमा मुढा लगायतका बाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छन् ।

चौकीदार रामकुमार राईका अनुसार कारागारमा शौचालयको सेफ्टी ट्यांकीको निकास र खानेपानीको मुख्य समस्या रहेको छ । जेलर सन्दीप न्यौपानेले कारागारमा दुई वर्षदेखि अहेव (स्वास्थ्यकर्मी) र केही समयदेखि कम्प्युटर अपरेटरको दरबन्दी रिक्त रहेको जानकारी दिए ।

हाल पुरुष कक्षमा ८ वटा र महिला कक्षमा १ वटा टेलिभिजन तथा पुरुषतर्फ ६ वटा र महिलातर्फ १ वटा शौचालय प्रयोगमा छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवनमा महिला, बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै तीन वटा हिरासत कक्ष रहेका छन् ।

लागूऔषध मुद्दाका थुनुवाहरूले हिरासतमा लामो समय बस्नुपर्ने भएकाले टेलिभिजनको व्यवस्था गरिदिन माग गरेका छन् । धनकुटाका प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारले नयाँ भवन बनेपछि हिरासत कक्ष मानव अधिकारमैत्री बनेको र थुनुवाहरूलाई मर्यादित व्यवहार गर्ने गरिएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!