
धनकुटा । कोशी प्रदेशमा सन् २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ मानव अधिकार उल्लङ्घनका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । सोमबार मानव अधिकार एलाइन्स कोशी प्रदेशले धनकुटामा आयोजना गरेको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले सार्वजनिक गरेको तथ्याङ्क अनुसार महिला अधिकार सम्बन्धी ६१, बाल अधिकार सम्बन्धी १११ र नागरिक अधिकार सम्बन्धी १५९ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।
यस्तै देशभरमा १६ हजार ५६ जना क्षमता रहेका कारागारमा २५ हजार बढी कैदीबन्दी रहेका उनले जानकारी दिए । उनका अनुसार देशभरका कारागारबाट ३ हजार ८३ जना कैदीबन्दी फरार छन् ।

सन् २०२५ मा कोशी प्रदेशमा १ हजार ४ सय ८९ जना मानव अधिकारका घटनाबाट पीडित भएका थिए । कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले मानव अधिकारका घटना जानेर वा नजानेर पनि हुने गरेको बताए ।
उनले सबैलाई बराबर कानुन लाग्ने भएकाले सबैले कानुनको बारेमा जानकारी राख्नुपर्ने उल्लेख गरे । मानव अधिकार उल्लङ्घनका घटना कम गराउन सबैको भूमिका उत्तिकै रहेको भन्दै उनले सबैजना सचेत हुनुपर्नेमा जोड दिए ।

संगालोखबर 



















